कोशीमा एकै महिना ५७९ सवारी दुर्घटना, ५४ जनाको ज्यान गयो

विराटनगर । कोशी प्रदेशमा गत माघ महिनामा भएका ५ सय ७९ वटा सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ८ सय ५० वटा सवारीसाधन दुर्घटनामा पर्दा ८ सय ७७ जना घाइते भएका छन्।

कार्यालयका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको जानकारी दिए। उनका अनुसार कुल दुर्घटनामध्ये ४ सय ३७ वटा अर्थात् ७५.५५ प्रतिशत दुर्घटना चालककै कमजोरीले भएका हुन्। जसमा ट्राफिक नियम उल्लंघन, तीव्र गति, गलत ओभरटेक, मापसे र चालकको असक्षमता प्रमुख कारण देखिएका छन्।

अन्य कारणहरूमा सवारीसाधनको यान्त्रिक गडबडीले ६ प्रतिशत, यात्रुका कारण १०.७ प्रतिशत र सडकको अवस्थाका कारण ६.७ प्रतिशत दुर्घटना भएको तथ्याङ्क छ। मौसम र चौपायाका कारण भने न्यून संख्यामा दुर्घटना भएका छन्।

ट्राफिक प्रहरीले माघ महिनामा मात्रै नियम उल्लंघन गर्ने ७ हजार ८ सय ४१ वटा सवारीसाधनलाई कारबाही गरेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले बताए। यस कारबाहीबाट ७९ लाख २७ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाउँदै एक महिनामा १ हजार ४ सय ५१ वटा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको छ। यी कार्यक्रममार्फत २८ हजार ७ सय ९७ जनालाई ट्राफिक नियम र सडक प्रयोगबारे प्रशिक्षण दिइएको एसपी गिरीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *