झापा ५ : चर्चित उम्मेदवारका बीच चुपचाप सक्रिय मन्धरा
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ यतिबेला मुलुककै सबैभन्दा चर्चित र रोचक चुनावी मैदान बनेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) जस्ता ‘हेभीवेट’ उम्मेदवारका कारण यो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रमा छ।
यही चर्चाको बीचमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया पौडेल भने ‘स्थानीय माटो र वास्तविक मुद्दा’ को एजेन्डासहित सशक्त रूपमा देखा परेकी छन्।
को हुन् मन्धरा चिमरिया?
दमक-९ की स्थायी बासिन्दा मन्धरा चिमरिया झापाको महिला नेतृत्व र सामाजिक सेवामा स्थापित नाम हो। २०२४ सालमा जन्मिएकी उनले १३ वर्षसम्म निजामती सेवामा बिताएर अनुभव संगालेकी छन्।
२०४८ सालदेखि नै नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेकी उनी हाल कांग्रेसको महासमिति सदस्य हुन्। उनी केवल राजनीतिकर्मी मात्र नभएर अनाथ बाल आश्रम दमककी अध्यक्षका रूपमा झण्डै ३० जना असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेकी एक सफल सामाजिक अभियन्ता पनि हुन्।
ठूला सपनाभन्दा स्थानीय समस्या प्राथमिकतामा
चुनावी घरदैलोका क्रममा व्यस्त रहेकी चिमरियाले मिडियामा हुने चर्चाभन्दा मतदाताको मनमा हुने स्थान महत्त्वपूर्ण रहेको बताएकी छन्। उनले विकासको परिभाषा बदल्नुपर्ने तर्क गर्दै भनेकी छन्, ‘ठूलठूला भवन, सडक र पुल बनाउनु मात्र विकास होइन। स्थानीय बासिन्दाका स-साना समस्या, दैनिक जनजीविका र भावनालाई सम्बोधन गर्नु नै वास्तविक विकास हो। म यहीँको माटोमा भिजेको मान्छे भएकाले यहाँका समस्यासँग पूर्ण जानकार छु।’
उनको भनाइ अनुसार मिडियामा हाइलाइट भयो भन्दैमा जनताले साथ दिन्छन् भन्ने हुँदैन। जसले स्थानीय मुद्दालाई प्राथमिकता दिन्छ, उही जनताको प्रिय हुने उनको विश्वास छ।
उनले विशेषगरी महिला हिंसा अन्त्य, पिछडिएको वर्गको उत्थान र स्थानीय स्रोतसाधनको उचित परिचालनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएकी छन्। राजनीतिलाई सेवाको माध्यम ठान्ने उनले भोट बैंकका लागि मात्र यो क्षेत्र प्रयोग गर्नेहरूलाई मतदाताले यसपटक चिन्नुपर्ने धारणा राखेकी छन्।
‘म नै यो क्षेत्रको असली उम्मेदवार’
‘मिडियामा ओली र बालेनको चर्चा भए पनि झापा ५ का मतदाता मेरो साथमा हुनुहुन्छ। राजनीतिक प्रतिशोध साध्न आउने र यो ठाउँलाई सिँढी मात्र बनाउनेहरू भन्दा यहाँको दुःख-सुखमा सधैँ साथ दिने उम्मेदवारलाई जनताले न्याय गर्नेछन्’ उनी भन्छिन्, ‘बालबालिका र महिलाको क्षेत्रमा मैले गरेका कामको मूल्यांकन मतदाताले गर्नेमा म ढुक्क छु।’
एमाले अध्यक्ष ओलीको गढ मानिएको यो क्षेत्रमा बालेन शाहको प्रवेश र कांग्रेसकी स्थापित नेतृ मन्धराको यो सक्रियताले त्रिपक्षीय प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाएको छ। ‘हेभीवेट’ नेताहरूका राष्ट्रिय एजेन्डा र मन्धराका स्थानीय मुद्दाबीच झापा ५ का मतदाताले कस्तो फैसला गर्छन्, त्यो भने फागुन २१ को निर्वाचनले नै देखाउनेछ।
