‘केपी ओलीलाई किन भोट ?’ यसो भन्छ एमाले

झापा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा एमालेको क्षेत्रीय कमिटीले ओलीलाई नै किन मतदान गर्ने भन्नेबारे ३० वटा ठोस कारण समेटिएको ‘विशेष अपिल’ सार्वजनिक गर्दै मतदाताको घरदैलोमा पुग्न थालेको छ।

उक्त अपिलमा केवल राष्ट्रिय राजनीति मात्र होइन, झापाको सुदूर दक्षिणदेखि उत्तरसम्मको विकासका सपनाहरूलाई जोडिएको छ। एमालेले राष्ट्रिय स्वाधीनताको रक्षा र देशमा व्याप्त निराशा चिर्न ओलीको नेतृत्व अनिवार्य रहेको दाबी गरेको छ। खासगरी युवा पुस्तालाई सीप र स्वरोजगारसँग जोड्ने प्राविधिक शिक्षाको एजेन्डालाई एमालेले प्रमुखताका साथ अघि सारेको छ।

स्थानीय विकास र अधुरा आयोजना

ओली प्रधानमन्त्री हुँदा सुरु भएका तर हाल अलपत्र परेका दमक–रवि–चिसापानी सडक र नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई चुनावी एजेन्डाको केन्द्रमा राखिएको छ। यस्तै, दमक, गौरादह र गौरीगञ्ज जस्ता बजारलाई ‘स्मार्ट सिटी’ बनाउने र रतुवा, मावा जस्ता खोलाको तटबन्धन कार्य पुरा गर्ने वाचा पनि एमालेले गरेको छ। निर्माणाधीन विभिन्न राजमार्ग र हुलाकी सडकको पूर्णताका लागि ओलीलाई जिताउनै पर्ने एमालेको तर्क छ।

जनतासँगको पुराना सम्बन्ध

एमाले केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार यो अपिल केवल चुनावी नारा मात्र नभई ओलीले गरेका कामको फेहरिस्त पनि हो। भूमिगत कालदेखिका ‘सेल्टर दाता’ र पुराना कार्यकर्तासँगको सामिप्यता नै ओलीको जितको मुख्य आधार रहेको एमालेको दाबी छ। भूमिहीन र सुकुम्वासी समस्याको स्थायी समाधानलाई पनि एमालेले आफ्नो अपिलमा विशेष स्थान दिएको छ।

पार्टीका कार्यकर्ताहरूले यस ३० बुँदे सामग्रीलाई मतदाता बुझाउने मुख्य हतियारका रूपमा प्रयोग गरिरहेका छन्। प्रत्येक वडामा १५ सयका दरले यो अपिल वितरण गर्दै एमालेले चुनावी माहोल आफ्नो पक्षमा पार्ने कसरत गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *