मायालु कविताको आत्मा खोज्ने यात्रा
‘कविता’
तीन अक्षरले बनेको यो शब्द उच्चारण गर्न जति सजिलो छ, यसको ओज उत्तिकै गह्रौँ छ। कविता लेख्नु सजिलो पक्कै छैन। कविता के हो र के होइन भन्ने बहसको विषय त छँदैछ, तर कवितामा कम्तीमा आत्मा हुनुपर्छ।
त्यही आत्मा पछ्याउँदै कविहरू कविताको बाटो हिँड्छन् र पाठकहरू त्यही आत्मा सुम्सुम्याउँदै कविता पढ्छन्। ऋजनजीका कवितामा ती आत्माहरू भेटिन्छन्।
इलामको चिसो बतासमा फिरफिरे घुमाउँदै, माई र जोगमाईमा पौडिँदै, चिया बगानमा लुकामारी खेल्दै र त्यहाँका तन्नेरीहरूसँग इत्रिँदै हुर्किएको नाम हो- ऋजन मायालु। विभिन्न प्रतियोगिताहरूमा जितको शुभकामना र सामाजिक सञ्जालमा उनका कविताहरू मैले भेट्ने गरेकी थिएँ। तर, म झट्ट नबोलिहाल्ने स्वभावकी भएकाले उनीसँग औपचारिक चिनजान थिएन।
२०७४ मै ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ कविता कृति प्रकाशित गरिसकेका ऋजन नेपाली कविताको फराकिलो आँगनमा नयाँ नाम होइन। हाम्रो भेट ‘घुम्ती बिक्रीमा छ’ ले गरायो। यस कृतिको घुम्टो उघार्न म पनि पुगेँ।
फेसबुकमा साथी बनेपछि एकदिन कल गरेर मैले ऋजनजीलाई जिस्काएँ, “के छ मायालु?” कविले आत्तिँदै “म्याम, म बाहिर छु, भरै कल गर्छु है” भनेर फोन काटे। ‘घुम्ती बिक्रीमा छ’ को विमोचनका दिन उक्त प्रसङ्ग निकाल्दा उनी लजाएर भुत्तुकै भए।
मलाई कविता पढ्न अलि बढी रस बस्छ, तर म कुनै पनि किताब झट्टै पढ्न सुरु गर्दिनँ। मुड नभई पढेँ भने बुझ्दिनँ पनि। ऋजनजीको दोस्रो कविता कृति ‘घुम्ती बिक्रीमा छ’ नामैले काफी बिम्बात्मक छ।
यस सङ्ग्रहमा ६६ वटा कविताहरू समेटिएका छन्। कविताहरू समग्रमा सुन्दर, सरल, सरस र बिम्बात्मक छन्। यहाँ छोटा र लामा दुवै थरीका कविता पढ्न पाइन्छ।
यी कविताहरूलाई सरसर्ती प्रेम कविता, जीवन दर्शन, पहिचान, नारी सम्बोधन, किनाराकृत आवाज र समसामयिक विषयवस्तु गरी खण्ड-खण्ड गर्न सकिन्छ। कोविदका आख्यान पढेर हुर्किएका कविले निकै सुन्दर प्रेम कविताहरू यस सङ्ग्रहमा समेटेका छन्।
‘घुम्ती बिक्रीमा छ’ शीर्षकको कविता आफैँमा प्रेम कविता हो। त्यस्तै ‘छुट्टियौँ’, ‘क्याक्टस’, ‘पागल प्रेम’, र ‘मानो’ जस्ता अत्यन्तै सुन्दर प्रेम कविताहरू यस सङ्ग्रहमा भेटिन्छन्।
उनका कवितामा प्रेम, बिछोड र बिछोडपछि ब्युँझिएर जीवनलाई गति दिने साहस भेटिन्छ। ती कवितामा कतै विस्मय, कतै प्रतिबद्धता त कतै समर्पण झल्कन्छ। जस्तै उनको ‘मानो’ कवितामा भनिएको छ:
रित्तै थिएँ
आयौ, भर्यौ र मलाई पूर्ण बनायौ
तिमी पहिलेको जस्तै हुनलाई
फेरि घोप्टाएर रित्तो बनाएर गयौ
भरिने घोप्टिने तिम्रो आदत होला
म भने आफै पहिलेको जस्तै
रित्तो भएर पनि
तिम्रै यादहरूको थुप्रोले भरिन पुगेँ।
यसरी उनका कवितामा रित्तिएर पनि फेरि भरिने हिम्मत भेटिन्छ। उनले कवितामा नयाँ-नयाँ बिम्बहरूको प्रयोग गरेका छन्। ‘मानो’ आफैँमा नयाँ र सुन्दर बिम्ब हो।

ऋजनका कवितामा जीवन दर्शन पनि भेटिन्छ। संसारका सबथोक किनबेच गर्न सकिन्छ, खोज्दा पाइन्छ र अनेक सम्बन्ध जोड्न सकिन्छ, तर बुबाआमाको सन्तानप्रतिको प्रेम कसैले नाप्न सक्दैन। साँच्चै बुबाआमाको सन्तानप्रति ‘औँठाछापवाला’ पवित्र प्रेम हुन्छ भन्ने भाव कविले पस्किएका छन्।
समयको भुमरीमा अल्झिएर कतै अल्मलिन सक्छौँ, कतै ठोकिन सक्छौँ र कहिलेकाहीँ थाक्न सक्छौँ। तर, थकानपछिको विश्रामपछि फेरि ऊर्जाका साथ हिँड्न सक्नुपर्छ भन्ने भाव उनको कविताको कुशल पक्ष हो। यहीँ कविताको आत्मा भेटिन्छ। जस्तै उनको ‘चिठी… छोराको नाममा’ कवितामा यस्तो छ:
डियर छोरा,
औँठाछाप सबैको फरक हुन्छ
त्यसलाई कसैले पनि साटफेर गर्न सक्दैन
यो साक्षर युगमा पनि
म तिमीलाई औँठाछापे माया गर्छु
उही तिम्रो जन्मदाता
वृद्धाश्रमबाट !
कविले ‘मान्छे-१’, ‘थेवा’, ‘हराएको बस्ती’, ‘चिम्सेहरूको देश’ जस्ता थुप्रै कविताहरूमा पहिचानको कुरा गरेका छन्। पछिल्लो समय पहिचानको नाममा जातिवादको धङधङीले हामीबीचको मानवीयता हराइसकेको तीतो यथार्थ पस्कँदै उनले सामाजिक सद्भाव र सहिष्णुता कायम गरी अघि बढ्न आह्वान गरेका छन्।
सामाजिक सद्भाव कायम रहे मात्र एक-अर्काको पहिचान जीवित रहने उनको जिकिर छ। उनले गाउँ र देश छोड्नेहरूलाई आफ्नो थातथलो नभुल्न आग्रह गरेका छन्। ‘हराएको बस्ती’ शीर्षकको कविताको अंश यस्तो छ:
त्यो समय नै सुन्दर थियो
दुई गाँस भातमा पनि भाग मिल्थ्यो
पहाडले दुवैको गीत बराबरी सुन्थ्यो
खोलाले दुवैलाई बराबरी नुहाइदिन्थ्यो
घामले दुवैलाई बराबर ताप दिन्थ्यो
एउटै किताबले दुवैलाई बराबर अक्षर चिनाउँथ्यो…
..
साथी, त्यही किताब
मैले पढ्न जानिनछु
तैँले त्यही किताबमा जिन्दगी पढेछस्
पढेछस् यो बस्तीभन्दा दामी अर्को बस्तीको कथा
जुन बस्तीमा एक्लै मज्जा हुन्छ क्यारे
मैले त पढ्न जानिनछु अक्षरहरू
र त,
अझै त्यही बालापनको दुनियाँ सम्झेर
तेरो साथ खोजिरहेछु
यस सङ्ग्रहभित्र ‘कोदो’ र ‘चमेली’ शीर्षकका कविताहरूमा निकै सुन्दर बिम्ब प्रयोग गरिएको छ। कविले समसामयिक महिलाले बाँचेको जीवनलाई कोदोसँग तुलना गरेका छन्। जसरी कोदोबाट रोटी, ढिँडो र जाँड-रक्सी बन्छ र ती परिकारको प्रयोग फरक-फरक हुन्छ, त्यसरी नै महिलाहरू पनि फरक-फरक भूमिकामा उभिएका हुन्छन् भन्ने भाव व्यक्त गरिएको छ।
‘महानता’ र ‘राजधानी’ जस्ता कवितामा किनाराकृतहरूको आवाज बुलन्द पारिएको छ। ‘विज्ञानसँग प्रश्न’, ‘बन्द खाम’ र ‘घर’ जस्ता कवितामा प्रविधिले हामीबाट मानवीयता लुट्दै गएको तिक्तता पोखिएको छ। ‘विज्ञानसँग प्रश्न’ कविताको एक अंश यस्तो छ:
अब बाबुआमाको आँखाबाट
कति आँसु खसेपछि
फादर्स एन्ड मदर्स ल प्रतिपादन होला ?
यसरी कवि ऋजन मायालुले ‘घुम्ती बिक्रीमा छ’ मा कविताका अनेक घुम्तीहरू समेटेका छन्। उनको कविताको सबैभन्दा बलियो पक्ष भनेको समसामयिक समाजलाई टपक्कै टिप्नु हो। सरल भाषाको प्रयोग र नयाँ बिम्ब बुन्नु अर्को सकारात्मक पक्ष हो।
कोविदको उपन्यासहरूको प्रभाव उनका कवितामा पनि भेटिन्छ। उनले साँच्चै शालीन प्रेम पस्किएका छन्। सङ्ग्रहको अर्को शक्ति छोटा कविता हुन्, जसले थोरै शब्दमा गहन विषय पस्किएका छन्।
यति हुँदाहुँदै पनि कतिपय कविताहरू अलि वर्णनात्मक भएका देखिन्छन्। कतिपय ठाउँमा गुराँस, घाम र जूनजस्ता पुराना साझा बिम्बहरू नै दोहोरिएका छन्। यी कुराहरू मिलाउन सके कविता अझ शक्तिशाली बन्ने पक्का छ। कवि कतै नास्तिक त कतै आस्तिक हुन खोज्दा वैचारिक अस्पष्टताको बोध हुन्छ।
कविता लेख्नु मात्र ठूलो कुरा होइन, एउटा निश्चित वैचारिक लय समात्दा अगाडिको बाटो अझ प्रस्ट हुन्छ। त्यसैले केही कमी-कमजोरी सच्याउँदै अघि बढ्न म कविलाई सल्लाह दिन्छु।
समग्रमा समकालीन कविताहरूको लहरमा ऋजन मायालुका ६६ कविताहरू गर्वका साथ उभिएका छन्। कवि यो समयका उदाउँदो सूर्य हुन्। अब चम्कनु बाँकी नै छ। कविलाई निरन्तर लेखनको शुभकामना बोल्छु!
