निर्वाचन सुरक्षामा त्रुटिरहित ढंगले खटिन प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनको समयमा हुन सक्ने सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले आसन्न निर्वाचनका लागि अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे प्रहरी कर्मचारीहरूलाई सचेत गराए।
महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिन र भयरहित एवं निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाउन आग्रह गरे। अन्य सुरक्षा निकाय र सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आ-आफ्नो क्षेत्रमा कुनै त्रुटि नहुने गरी कार्यसम्पादन गर्न उनले निर्देशन दिए।
निर्वाचनको समयमा खटिने प्रहरीहरूको गुनासो सम्बोधन गर्न र उनीहरूप्रति गरिने आचरण एवं व्यवहारमा थप संवेदनशील बन्न उनले जोड दिए। साथै, निर्वाचनको समयमा थप मद्दतका लागि आउने प्रहरी कर्मचारीको उचित व्यवस्थापन र परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले आग्रह गरे।
