‘ऊर्जाको अँध्यारो हटायौँ, अब राज्यको अँध्यारो हटाउँछौँ’

विराटनगर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा चुनावी अभियानमा व्यस्त छन्। बुधबार झापाबाट सुरु भएको उनको राजनीतिक यात्रा बिर्तामोड, दमक, पथरी, धरान र इटहरी हुँदै बिहीबार विराटनगर पुगेको हो।

अभियानका क्रममा घिसिङले अबको पाँच वर्षभित्र स्पष्ट परिणाम दिने गरी नयाँ राजनीतिक अभ्यास सुरु गर्ने बताएका छन्। ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको अनुभवलाई आधार मान्दै उनले देशव्यापी रूपान्तरणको संकल्प गरेका हुन्।

विराटनगरमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले भने, “हामीले ऊर्जा क्षेत्रको अँध्यारो हटायौँ, अब राज्य सञ्चालनमा व्याप्त अँध्यारो हटाउने बेला आएको छ।”

घिसिङले सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवा रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच देशभर संयुक्त उम्मेदवारी दिने सहमति भएको जानकारी दिँदै उनले मोरङ क्षेत्र नम्बर ६ मा २५ वर्षीय युवा वसन्त बुढाथोकीलाई उम्मेदवार बनाएको बताए। युवा नेतृत्वमार्फत परम्परागत राजनीतिलाई चुनौती दिने उनको रणनीति देखिन्छ।

भ्रष्टाचार र बेरोजगारीलाई देशको मुख्य समस्याका रूपमा औँल्याउँदै घिसिङले नीतिगत सुधारमार्फत ती समस्या समाधान गर्ने दाबी गरे। उनले आफ्नो पार्टी ‘जेन-जी’ पुस्ताको आकांक्षा बुझ्ने शक्ति भएको बताउँदै पूर्वाधार र औद्योगिक विकासलाई प्राथमिकता दिने उल्लेख गरे। कार्यक्रममा उम्मेदवार बुढाथोकीले वर्तमान राजनीतिबाट जनता निराश रहेकाले आफूले सुशासनको नयाँ खाका ल्याएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *