निषेधाज्ञाका बीच राजावादीद्वारा पूर्वराजाको स्वागत गर्ने तयारी
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्यहाँ उपस्थित हुन आह्वान गरेको छ ।
झापाबाट शुक्रबार काठमाडौँ फर्किन लागेका पूर्वराजाको स्वागतमा सहभागी हुन ‘संयुक्त जनआन्दोलन समिति’ले नागरिकलाई अपिल गरेको हो ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्याली, जुलुस वा भिडभाड गर्न रोक लगाएको थियो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिए पनि नवराज सुवेदी नेतृत्वको समितिले त्यसको प्रतिवाद गर्दै स्वागत कार्यक्रम तय गरेको छ । समितिका अनुसार फागुन १ गते दिउँसो १२ बजे विमानस्थल पुगेर पूर्वराजाको भव्य स्वागत गरिनेछ ।
समितिका संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय एकताको प्रतीक राजसंस्थाबिना देशले निकास नपाउने दाबी गरिएको छ । “सबै मिलेर देश बचाउन निषेधको राजनीति अन्त्य हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “राजा ज्ञानेन्द्रको आगमनमा सहभागी भई भव्य स्वागत गर्न आम नागरिकलाई आग्रह गर्दछौँ ।”
प्रशासनले भिडभाड नगर्न आग्रह गरिरहँदा राजावादीको यो आह्वानले शुक्रबार विमानस्थल क्षेत्रमा तनाव बढ्न सक्ने देखिएको छ ।
