बदलिएको कांग्रेससँग देश बदल्ने तागत छ : उपसभापति शर्मा

भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस नै आगामी निर्वाचनबाट देशको पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् । बिहीबार भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै शर्माले बदलिएको कांग्रेससँग अब देश बदल्ने तागत र स्पष्ट दृष्टिकोण रहेको बताए ।

देशभरको सूचना र जनलहरका आधारमा कांग्रेस बहुमततर्फ अग्रसर भइरहेको उल्लेख गर्दै उनले आगामी फागुन २१ को निर्वाचनपछि कांग्रेसले नै देशको नेतृत्व गर्ने बताए । “कांग्रेसका लागि जित र हार नौलो कुरा होइन, तर यो निर्वाचन विशेष र गम्भीर छ,” उनले भने, “२०८४ मा हुनुपर्ने चुनाव २०८२ मै किन हुँदैछ? ७४ जना आमाको काख किन रित्तियो? यी गम्भीर प्रश्नको समीक्षा गरेर मात्र कांग्रेसले मतदातासँग मत माग्नेछ ।”

उनले भदौ २३ को ‘जेन जी’ विद्रोहले देशमा परिवर्तन खोजेको स्वीकार गर्दै नयाँ हुनु भनेको जन्ममिति मात्र नभई सोच र दृष्टिकोणको बदलाव भएको टिप्पणी गरे । कांग्रेस अब नयाँ सोच र नेतृत्वको बदलावसहित जनतामा आएको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाणले कांग्रेसको बहुमत आए मात्र देशमा स्थिरता आउने बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कांग्रेसकै नेतृत्वमा बनेको र यसको सफल सञ्चालन पनि कांग्रेसले नै गर्ने दाबी गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका उम्मेदवारहरू र नेताहरूले सम्बोधन गर्दै मुलुकको वर्तमान संकट समाधान गर्न कांग्रेसको विकल्प नभएकोमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *