राष्ट्रिय राजनीतिमा ‘आइडिया मञ्च’ को उदय: निर्वाचनपछि सशक्त विपक्ष बन्ने घोषणा
काठमाडौँ । नेपाली राजनीतिमा नयाँ शक्ति र विचारको बहस चलिरहेका बेला तीनवटा राजनीतिक दल र एक अभियानले मिलेर ‘आइडिया मञ्च’ निर्माण गरेका छन् ।
२०८२ भदौको ‘जेनजी’ आन्दोलनले उठाएका मुद्दाहरू अलपत्र परेको र पुराना तथा नयाँ भनिएका दलहरू सत्तास्वार्थमा लिप्त भएको आरोप लगाउँदै यो मञ्चले आफूलाई ‘समावेशी, लोकतान्त्रिक र नैतिक विकल्प’का रूपमा अघि सारेको हो ।
पिपुल फर्स्ट पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनबीच माघ २७ गते भएको समझदारीपछि बिहीबार औपचारिक रूपमा यो नयाँ मोर्चाको घोषणा गरिएको हो ।
मञ्चले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको युवाहरूको हत्या, भ्रष्टाचार र जेलबाट कैदी भगाउने जस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन नभएकोमा चिन्ता व्यक्त गरेको छ ।
आइडिया मञ्चले जारी गरेको विज्ञप्तिमा ‘जेनजी’ आन्दोलनको रापतापलाई केही व्यक्ति र शक्तिले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाइएको छ ।
नागरिक सरकारमा सहभागी भएर आफ्नै दल खोल्ने वा अन्य दलमा प्रवेश गरेर चुनाव लड्ने कार्य लोकतान्त्रिक मर्यादाविपरीत भएको मञ्चको ठहर छ । मञ्चले हालको अवस्थामा भदौ विद्रोह आफ्ना लक्ष्य प्राप्त गर्न सबैभन्दा असफल आन्दोलन बन्न पुगेको निष्कर्ष निकालेको छ ।
आसन्न निर्वाचनका लागि पर्याप्त तयारी नभएकाले धेरै क्षेत्रमा ‘प्रियतावादी’ र ‘यथास्थितिवादी’ शक्तिहरू नै हाबी हुन सक्ने यथार्थलाई मञ्चले स्वीकार गरेको छ । यद्यपि, आफ्ना एजेन्डाहरू जनतामा पुर्याउन मञ्चसँग आबद्ध दलहरूले देशका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । निर्वाचनमा देशभर संयुक्त रूपमा प्रचारप्रसार गर्ने निर्णय समेत उनीहरूले गरेका छन् ।
मञ्चका संयोजक प्रशान्त सिंहका अनुसार निर्वाचनपछिको संसद् सत्तामुखी हुने निश्चित रहेकाले आइडिया मञ्चले संसद् बाहिरबाट सशक्त र वास्तविक विपक्षको भूमिका निर्वाह गर्नेछ ।
अबको दुई वर्षभित्र हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनमा भने मञ्चले अझ सशक्त रूपमा उम्मेदवारी दिने तयारी गरेको छ । सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा दूरगामी सुधारका लागि स्पष्ट मार्गचित्र रहेको दाबी गर्दै यसले नयाँ राजनीतिक ध्रुवका रूपमा आफूलाई उभ्याएको छ ।
