फागुन ५ गते सूर्यग्रहण, यस्ता छन् ५ विशेषता र संयोग

काठमाडौँ। फेब्रुअरी १७ अर्थात् फागुन ५ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ। ज्योतिषीय र खगोलीय दृष्टिले यो ग्रहणलाई निकै महत्वपूर्ण मानिएको छ। करिब ३७ वर्षपछि कुम्भ राशिमा पाँचवटा ग्रहहरूको दुर्लभ संयोग बन्दै गर्दा लाग्न लागेको यो सूर्यग्रहणबारे केही मुख्य विशेषताहरू यसप्रकार छन्।

१. दुर्लभ ग्रह संयोग :

यस सूर्यग्रहणको समयमा कुम्भ राशिमा सूर्यका साथै चन्द्रमा, बुध, शुक्र र राहुको उपस्थिति रहनेछ। ज्योतिष शास्त्रका अनुसार यस्तो दुर्लभ योग यसअघि ७ मार्च १९८९ मा बनेको थियो। राहु र सूर्य एकै स्थानमा रहँदा ‘ग्रहण योग’ बन्नेछ, जसलाई आध्यात्मिक रूपमा संवेदनशील समय मानिन्छ।

२. समय र अवधि :

यो सूर्यग्रहण फेब्रुअरी १७ को दिउँसो ३:२६ बजे सुरु भएर साँझ ७:५७ बजे समाप्त हुनेछ। ४ घण्टा ३२ मिनेट लामो रहने यो ग्रहणका लागि १२ घण्टा अगाडि अर्थात् सोही दिनको मध्यरात ३:२६ बजेदेखि नै सूतक काल आरम्भ हुने बताइएको छ।

३. दृश्यता :

यो एक ‘कंकण सूर्यग्रहण’ (Annular Solar Eclipse) हो, जसमा चन्द्रमाले सूर्यलाई ढाक्दा आकाशमा ‘आगोको औँठी’ (Ring of Fire) जस्तो दृश्य देखिनेछ। यो ग्रहण मुख्यतया अन्टार्कटिका, दक्षिण अफ्रिका, मौरिसस, जिम्बाब्वे, नामिबिया र दक्षिण अमेरिकाका केही भागबाट देखिनेछ। नेपाल र भारतबाट भने यो ग्रहण देखिने छैन।

४. राशिमा प्रभाव :

कुम्भ राशि र धनिष्ठा नक्षत्रमा लाग्ने यो ग्रहणले विभिन्न राशिहरूमा फरक प्रभाव पार्ने देखिन्छ। मेष, मिथुन र धनु राशिका लागि यो समय आर्थिक र व्यावसायिक रूपमा फलदायी हुन सक्छ। सिंह, तुला र कुम्भ राशिका व्यक्तिहरूले मानसिक सतर्कता अपनाउनुपर्ने देखिन्छ भने कर्कट, वृश्चिक र मीन राशि भएकाहरूले लेनदेन र स्वास्थ्यमा विशेष सावधानी राख्नुपर्ने ज्योतिषीय विश्लेषण छ।

५. आगामी ग्रहणहरू :

सन् २०२६ को पहिलो चन्द्रग्रहण मार्च ३ मा लाग्नेछ भने दोस्रो सूर्यग्रहण १२ अगस्टमा लाग्नेछ। अगस्टमा लाग्ने ग्रहण ‘पूर्ण सूर्यग्रहण’ हुने भए पनि त्यो पनि नेपाल र भारतबाट देखिने छैन। नेपाल र भारतमा नदेखिने भएकाले यहाँ यसको शास्त्रीय सूतक र बार्ने नियमहरू लागू नहुने बताइएको छ।

(एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *