फागोको चुनावी दौड : स्थानीय अनुभव बोकेर संघीय संसद्तर्फ
विराटनगर। मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता खड्ग फागो सक्रिय देखिएका छन्। उर्लाबारी नगरपालिकाका पूर्वमेयरसमेत रहेका फागो स्थानीय तहमा कार्यकारी नेतृत्व सम्हालेको अनुभवसहित अहिले जनतामाझ पुग्न थालेका हुन्।
नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री रहेका फागो २०७४ सालको स्थानीय निर्वाचनमा मेयर निर्वाचित भएका थिए। आफ्नो पाँच वर्षे कार्यकालमा उर्लाबारीको प्रशासनिक संरचना सुदृढीकरण, ५४ वटा ऐन तथा कार्यविधि निर्माण र इलाका प्रशासन कार्यालय स्थापनाजस्ता कामलाई उनले आफ्नो महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
विशेषगरी कोरोना महामारीका बेला ३ हजार ३ सयभन्दा बढी घरधुरीलाई राहत वितरणमा आफैँ खटिएका फागोलाई स्थानीयले संकटको साथीका रूपमा लिने गरेका छन्।
स्थानीय सरकार सञ्चालनका क्रममा आफूले भोगेका कानुनी र प्रशासनिक जटिलतालाई संघीय तहबाटै समाधान गर्न आवश्यक रहेकाले प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी रहेको फागो बताउँछन्।
राजनीतिमा प्रतिशोधका कारण करिब तीन दर्जन मुद्दा खेप्नु परे पनि आफू जनसेवाबाट विचलित नभएको उनको भनाइ छ। आगामी दिनमा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनासँगै प्रभावकारी कानुन निर्माणलाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यहाँ नेकपा एमालेले घनश्याम खतिवडालाई मैदानमा उतारेको छ। खतिवडा २०७४ को निर्वाचनमा विजयी भएका थिए भने २०७९ को चुनावमा कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित भएका थिए। यसपटक फागो र खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिए पनि मैदानमा अन्य दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अज्ञमणि न्यौपाने, राप्रपाबाट पूर्णबहादुर वाईबा तामाङ र माओवादीबाट डिल्लीराम नेपालीलगायतका उम्मेदवारहरू पनि आफ्ना एजेन्डासहित घरदैलो अभियानमा व्यस्त छन्। स्थानीय तहमा कमाएको विश्वासलाई राष्ट्रिय राजनीतिमा रूपान्तरण गर्ने लक्ष्यसहित फागोले अहिले मतदातासँगको संवादलाई तीव्रता दिएका छन्।
