फागुन २ भित्रै ‘प्रतिज्ञापत्र’ ल्याउँदै कांग्रेस
काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्रै आफ्नो ‘प्रतिज्ञापत्र’ (घोषणापत्र) सार्वजनिक गर्ने भएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गरिने जानकारी दिएका हुन्।
निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र अनिवार्य रूपमा घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो। आयोगको सोही समयसीमा र चुनावी कार्यतालिकालाई मध्यनजर गर्दै कांग्रेसले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको हो।
यसअघि नै कांग्रेस सभापति गगन थापाले यस पटक पार्टीले परम्परागत घोषणापत्रको सट्टा नागरिकसँग गरिने बाचाका रूपमा ‘प्रतिज्ञापत्र’ ल्याउने घोषणा गरिसकेका छन्।
प्रवक्ता चालिसेका अनुसार पार्टीको आन्तरिक तयारी फागुन १ गते नै सार्वजनिक गर्ने खालको रहे पनि प्राविधिक कारणले ढिलो भएमा २ गतेसम्ममा जसरी पनि सार्वजनिक गरिनेछ।
प्रतिज्ञापत्रमा सुशासन, ‘मिनिमम गभर्नमेन्ट’को अवधारणा, डिजिटल गभर्नेन्स र जेन-जी आन्दोलनका भावनाहरूलाई मुख्य प्राथमिकता दिइने कांग्रेसले जनाएको छ।
निर्वाचन आयोगले फागुन १८ गतेदेखि मौन अवधि सुरु हुने र फागुन २१ गते मतदान हुने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।
