तामाकोशी बस दुर्घटना : मृतकको संख्या १२

काठमाडौँ। रामेछापको तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले घटनास्थलमा थप शवहरू फेला परेपछि मृतकको संख्या १२ पुगेको पुष्टि गरे।

उनका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने अन्य ६ जनाको शव घटनास्थलमै फेला परेको छ। आज मंगलबार बिहान बागमती प्रदेश ०१-००५ ख ९९७५ नम्बरको बस रामेछापको मचानेटार भन्ने ठाउँबाट नदीमा खसेको थियो। काठमाडौंबाट ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको सो बस सडकबाट सिधै नदीमा डुबेको थियो।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। अरनिको यातायात समितिका अनुसार काठमाडौँको जडीबुटीबाट ५ र चाबहिलबाट ३ जनाले टिकट काटेको रेकर्ड भए पनि बीच बाटोबाट थप यात्रु चढेको हुन सक्ने अनुमान गरिएको छ।

अहिले पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। बस पूर्ण रूपमा नदीमा डुबेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *