महाशिवरात्रिको तयारी पूरा

काठमाडौं । गुठी संस्थानले आगामी महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा गरेको छ। संस्थानले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने यस पर्वका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको जानकारी दिएको हो।

यस वर्षको महाशिवरात्रि फागुन ३ गते परेको छ। संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार पशुपतिनाथ मन्दिर क्षेत्र र काठमाडौंका विभिन्न अखडाहरूमा आउने साधुसन्तको सेवा, पूजा, भोजन र बसोबासका लागि संस्थानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

महाशिवरात्रिका लागि संस्थानले दाउरा खरिदमा ८ लाख र पर्व सञ्चालनका लागि ३२ लाख गरी कुल ४० लाख रुपैयाँ बजेट छुट्याएको छ। फागुन १ गते राष्ट्रपति कार्यालयमा पुगेर परम्परागत विधिअनुसार २१ प्रकारका पूजा सामग्री सङ्कल्प गर्ने कार्यक्रम छ। सोही दिनदेखि पशुपति क्षेत्रमा साधुसन्तका लागि धुनी बाल्न दाउरा र भोजनको व्यवस्था सुरु हुनेछ।

फागुन २ गते विभिन्न आश्रम र अखडाहरूमा भोजनको प्रबन्ध मिलाइने छ भने मुख्य दिन फागुन ३ गते पशुपतिनाथमा पञ्चामृत पूजा र साँझ दीप प्रज्वलन गरिनेछ।

पर्वको अन्तिम दिन फागुन ५ गते साधुसन्तलाई भोजन गराएपछि उनीहरूको वर्गीकरण अनुसार दक्षिणा दिएर बिदाइ गरिनेछ। गत वर्ष संस्थानले २ हजार ३ सय ८९ जना साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको थियो, जसमा २० लाख ५८ हजार रुपैयाँभन्दा बढी खर्च भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *