तामाकोशी बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

काठमाडौं । रामेछापको तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले घटनास्थलमा थप ३ वटा शव फेला परेपछि मृतकको कुल संख्या ९ पुगेको जानकारी दिए।

उनका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने ३ जनाको शव घटनास्थलमै फेला परेको हो।

आज मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको सो बस सडकबाट खसेर नदीमा डुबेको छ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। यद्यपि, बाटोबाट अन्य यात्रुहरू थपिए वा नथपिएको बारे अझै स्पष्ट भइसकेको छैन।

अहिले सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा खोजी कार्य जारी राखेको सीडीओ थापाले बताए। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *