तामाकोशीमा बस खस्दा ६ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका-९ त्रिवेणी नजिकै दुर्घटना भई तामाकोशी नदीमा खसेको छ। मंगलबार बिहान भएको उक्त भीषण दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अरनिको यातायात समितिको ३-०१-००५ ख ९९७५ नम्बरको बस सडकबाट सिधै नदीमा खसेको थियो। घटनास्थलबाट हालसम्म ६ जनाको शव निकालिएको छ ।

१३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये केही घाइतेहरूको अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएको छ। मृतकहरूको पहिचान खुल्न अझै बाँकी छ।

रामेछाप प्रहरीका इन्स्पेक्टर राजन तिमल्सिनाले दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको बताए। बस सिधै नदीमा खसेको र पानीको बहाव तीव्र रहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उनको भनाइ छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

यातायात समितिको प्रारम्भिक विवरण अनुसार बसमा काठमाडौंबाट टिकट काटेका र चालक दलसहित ११ जना सवार रहेको देखिए पनि १३ जनाको उद्धार हुनुले यात्रु संख्या अझै बढी हुन सक्ने संकेत गरेको छ। प्रहरीले यात्रुको वास्तविक संख्या र सूचीबारे थप पुष्टि गर्ने काम गरिरहेको छ।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। दुर्घटनाको यकिन कारण खुल्न नसके पनि तीव्र गति वा प्राविधिक गडबडी हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *