विदेश पठाइदिने भन्दै ६८ लाख ठगी

काठमाडौं। विदेश पठाउने प्रलोभन देखाएर ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० स्थित ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय बद्री सिलवाल रहेका छन्।

चितवन राप्ती नगरपालिका-२ घर भएका सिलवालले दुई विद्यार्थीलाई अध्ययन भिसामा पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार रुपैयाँ लिएर फरार भएका थिए।

उनलाई प्रहरी वृत्त लैनचौरले नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उनले आफ्नो नाम बदलेर ‘केदार प्रसाद सिलवाल’ भन्दै अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सिलवालले स्पेन पठाउने भन्दै १२ लाख ४० हजार र चार जनालाई सर्बिया पठाउने बहानामा २१ लाख ९० हजार ५ सय रुपैयाँ ठगी गरेका छन्।

त्यस्तै, अन्य तीन जनाबाट स्पेनकै लागि थप १२ लाख रुपैयाँ लिएको आरोप उनीमाथि छ। प्रहरीले उनीविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *