बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै पोखरा सेमिफाइनलमा
धरान। धरानमा जारी २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली पोखराको लालीगुराँस एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पोखराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि हारजितको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा पोखराका राम थापा, टीकाराम गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुप र आशिष गुरुङले गोल गरे। आयोजक धरानका तर्फबाट दोर्जे तामाङ गोल गर्न चुकेपछि टोली प्रतियोगिताबाट बाहिरिन पुग्यो।
खेलको ‘प्लेयर अफ द म्याच’ पोखराका कुम्बा देउवा घोषित भए। आयोजकका अनुसार मंगलबारको खेल काठमाडौंको सातदोबाटो युथ क्लब र झापा ११ बीच हुनेछ।
प्रतिक्रिया
