कांग्रेसले कुशासन अन्त्य गरी विधिको शासन स्थापना गर्छ : थापा
विराटनगर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले कुशासन अन्त्य गर्दै विधिको शासन स्थापना गर्ने अभियान सुरु गरेको बताएका छन्।
विराटनगरमा सोमबार आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।
उनले भ्रष्टाचार नियन्त्रण र विधिको शासन स्थापित गर्ने लक्ष्यसहित गाउँगाउँ पुगेर जनताको प्रश्न सुन्न र जवाफ दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
सभापति थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र महान्यायधिवक्ताको कार्यालयलाई जनमुखी र सुदृढ बनाउने योजना अघि सारेका छन्।
उनले आगामी २०८२ फागुन २१ पछिको ५ वर्षलाई भ्रष्टाचारविरुद्धको महाअभियानको वर्ष बनाउने संकल्प समेत प्रस्तुत गरे।
त्यस्तै, वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसमा सबै वर्ग र समुदायको भविष्य सुरक्षित रहेको भन्दै पार्टीको पक्षमा उभिन आह्वान गरे।
आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न कांग्रेसको बहुमत आवश्यक रहेकोमा जोड दिएका छन्।
कार्यक्रममा सहभागी नेताहरूले विकासका तथ्यहरू प्रस्तुत गर्दै नकारात्मक भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे।
