टी-२० विश्वकप: नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित
काठमाडौँ। शनिबारबाट सुरु भएको टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसका लागि स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन जोडे भने बास डि लिडले ३० रनको योगदान दिए। त्यस्तै माइकल लेभिटले २४, कोलिन अक्रमनले २० र अर्यान दतले १३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न पाकिस्तानका सलमान मिर्जाले घातक बलिङ गर्दै ३ विकेट लिए। उनलाई साथ दिँदै मोहम्मद नवाज, अब्रर अहमद र सइम अयुबले समान २–२ विकेट हात पारे।
१ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम ओभरमा निकै संघर्ष गर्नुपरेको थियो। उसले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानको जितमा प्रारम्भिक ब्याटर सहिबजदा फर्हानले ४७ रनको महत्वपूर्ण इनिङ्स खेले। त्यस्तै साइम अयुबले २४ र कप्तान बाबर अजामले १५ रन बनाए।
खेल पाकिस्तानको हातबाट फुत्किन लागेका बेला फहिम असरफले विष्फोटक ब्याटिङ गर्दै टिमलाई जित दिलाए। उनले मात्र ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २९ रनको अविजित योगदान दिएपछि पाकिस्तानको जित सम्भव भएको हो।
