दुर्घटनामा शिक्षकको निधन: विद्यार्थी-शिक्षक शोकाकूल
धनगढी। बैतडीको पुर्चौडीमा भएको जन्ती बस दुर्घटनामा परी बझाङले एक कुशल शिक्षक गुमाएको छ।
बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ फर्किरहेको बस बिहीबार पुर्चौडी नगरपालिका-६ बडचौरमा दुर्घटना हुँदा बझाङको महादेव माध्यमिक विद्यालय, लिममा कार्यरत शिक्षक विष्णु जोशीको ज्यान गएको हो।
शिक्षक जोशी आफ्नो विद्यालयमा अत्यन्तै लगनशील र मिलनसार स्वभावका कारण सबैमाझ लोकप्रिय हुनुहुन्थ्यो। उहाँको निधनले विद्यालय परिवार, विद्यार्थी, आफन्त र शुभचिन्तकहरू गहिरो पीडामा परेका छन्।
सामाजिक सञ्जालमा उहाँका विद्यार्थी र सहकर्मीहरूले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिरहेका छन्।
यसअघि सोही भीषण दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीसहित १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
एउटै दुर्घटनामा शिक्षक, निजामती कर्मचारी र सर्वसाधारणको ज्यान गएपछि यतिबेला बझाङ, बैतडी र दार्चुला क्षेत्र शोकले स्तब्ध बनेको छ।
