चुनावअघि कुनै पनि दलसँग गठबन्धन हुँदैन : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको भन्दै चुनाव पूर्व कसैसँग तालमेल नहुने बताए।
गठबन्धन संस्कृतिले नागरिकमा उत्साहभन्दा बढी अशान्ति पैदा गरेको प्रवक्ता चालिसेको दाबी छ। ‘निर्वाचन लक्षित भएर हाम्रो कुनै पनि दलसँग भेटघाट भएको छैन,’ उनले भने, ‘हामी दृढतापूर्वक आफ्नै बलमा चुनावी प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमै यो कुरा भनिसक्नुभएकाले कार्यकर्ता र शुभेच्छुकहरूलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दछु।’
प्रवक्ता चालिसेले नयाँ शक्तिका रूपमा आएका दलहरूप्रति लक्षित गर्दै अधिनायकवादीहरू मिठो र चिप्लो कुरा गरेर झुक्क्याउन आउने भन्दै त्यस्तो भ्रममा नपर्न समेत सचेत गराए। उनले अन्य दलहरूले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको आरोप लगाउँदै यस विषयमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा विपक्षी नेता र पार्टीहरूप्रति घृणास्पद अभिव्यक्ति र अमर्यादित टिप्पणी बढ्दै गएकोमा कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
यस्ता गतिविधिले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको भन्दै कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ।
