विश्वकप अभ्यास खेल: नेपाल र क्यानाडा भिड्दै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपालले आज बिहीबार आफ्नो दोस्रो अभ्यास खेलमा क्यानाडाको सामना गर्दैछ। चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रङ्गशालामा हुने यो खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो। तर आजको खेलमा नियमित कप्तान रोहित पौडेल उपलब्ध हुने छैनन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मुम्बईमा आयोजना गरेको ‘क्याप्टेन्स डे’ मा सहभागी हुन रोहित त्यसतर्फ प्रस्थान गरेकाले टोलीको नेतृत्व उपकप्तान दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

मुम्बईमा हुने उक्त कार्यक्रममा नेपालसहित भारत, अफगानिस्तान, क्यानाडा र इंग्ल्यान्ड लगायतका टोलीका कप्तानहरू सहभागी हुँदैछन्। अन्य टोलीका कप्तानहरू भने कोलम्बोमा आयोजना हुने कार्यक्रममा रहनेछन्। नेपालले विश्वकपको आफ्नो पहिलो खेल आगामी आइतबार मुम्बईको वाङ्खडे रङ्गशालामा इंग्ल्यान्ड विरुद्ध खेल्दै सुरुवात गर्ने तालिका छ।

ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा दुई वर्षअघि अमेरिकामा भएको विश्वकपको अभ्यास खेलमा क्यानाडाले नेपाललाई ६३ रनले पराजित गरेको थियो। तत्कालीन समयमा नेपाली टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले क्यानाडालाई प्रशिक्षण दिएका थिए। हाल पुबुदु अमेरिकाको प्रशिक्षकका रूपमा कार्यरत छन्।

नेपाल एसिया–इष्ट एसिया प्यासिफिक क्षेत्रका सबै ६ खेल जितेर विश्वकपमा छनोट भएको हो भने क्यानाडाले पनि अमेरिकी क्षेत्रको छनोटमा अपराजित रहँदै विश्वकपको यात्रा तय गरेको हो। दिलप्रित बज्वाको कप्तानीमा रहेको क्यानाडा टोलीमा साद बिन जाफर, निकोलास कीर्तन र नवनीत ढालिवाल जस्ता अनुभवी पूर्व कप्तानहरू समेत सामेल छन्। जाफर र कीर्तनले यसअघि नेपाल आएर नेपाल प्रिमियर लिग (एनपीएल) समेत खेलिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *