कोइराला र ढकाललाई रास्वपाको चुनौती

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक माहोल तातिएको छ। परम्परागत शक्ति र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई ‘हट सिट’ बनाएको छ।

नेपाली कांग्रेसले डा. शेखर कोइरालालाई पुनः चुनावी मैदानमा उतारेको छ। कोइराला यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।

कांग्रेसले संगठनात्मक रूपमा मजबुत तयारी गरेको दाबी गरे पनि पार्टीभित्रै कोइरालाको पछिल्लो भूमिकालाई लिएर केही कार्यकर्तामा असन्तुष्टि समेत देखिएको छ।

यता, नेकपा एमालेले पार्टीका सचिवका उम्मेदवार समेत रहेका विनोद ढकाललाई अघि सारेको छ।

पार्टीभित्र आलोचनात्मक र स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिने ढकालप्रति एमाले कार्यकर्ताहरू विश्वस्त देखिन्छन्। एमालेको संगठित संरचना र ढकालको व्यक्तिगत प्रभाव नै एमालेको मुख्य चुनावी पुँजी बनेको छ।

यी दुई पुराना शक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले कडा चुनौती दिने देखिएको छ। विवेकशील साझाबाट राजनीति सुरु गरेकी आचार्य सामाजिक र शैक्षिक क्षेत्रमा सक्रिय छिन्।

पुराना दलप्रति असन्तुष्ट र विशेषगरी सहरी युवा मतदाताको मत आचार्यतर्फ आकर्षित हुन सक्ने विश्लेषण गरिएको छ।

अघिल्लो निर्वाचनमा कोइरालाले ३५ हजार २२४ मत ल्याएर विजयी हुँदा एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ र रास्वपाले ९ हजार १४० मत प्राप्त गरेका थिए।

यसपटक रास्वपाको बढ्दो आकर्षण र एमालेको नयाँ उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने देखिन्छ। कांग्रेसको स्थापित मत, एमालेको संगठन र रास्वपाको ‘परिवर्तन’ को अपिलबीच मोरङ–६ मा त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ।

मोरङ क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा, बुढीगंगा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडा गरी कुल २० वटा वडा पर्छन् ।

१ लाख ३७ हजार ७३२ मतदाता रहेको यस क्षेत्रमा पछिल्लो समय युवा मतदाता उल्लेख्य संख्यामा थपिएकाले उनीहरु आफूप्रति आकर्षित हुने विश्वास बुढाथोकीको छ। यो क्षेत्रमा १७ जना उम्मेदवार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *