६ महिनामै भित्रियो साढे १० खर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार पुस मसान्तसम्म १० खर्ब ६२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
गत वर्षको सोही अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स आएकोमा यस वर्ष ३९ प्रतिशतको वृद्धि देखिएको हो। रेमिट्यान्समा आएको यो उछालसँगै मुलुकको विदेशी विनिमय सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ।
२०८२ असारमा २६ खर्ब ७७ अर्ब रहेको सञ्चिति २१.१ प्रतिशतले बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यो सञ्चितिले करिब १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
मुलुकको शोधनान्तर स्थिति (भित्रिने र बाहिरिने रकमको अन्तर) पनि ५ खर्ब रुपैयाँले बचतमा रहेको छ। गत वर्ष यही समयमा शोधनान्तर बचत २ खर्ब ४९ अर्ब मात्र थियो।
विदेश पढ्न जाने विद्यार्थीमार्फत बाहिरिने रकम भने बढेको छ। ६ महिनाको अवधिमा शिक्षाका लागि ६७ अर्ब रुपैयाँ बाहिरिएको छ, जुन गत वर्ष ५६ अर्ब थियो।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा भने गिरावट देखिएको छ। यस अवधिमा कर्जा प्रवाह १ खर्ब ९७ अर्ब ४७ करोडले मात्र बढेको छ, जबकि गत वर्षको सोही अवधिमा २ खर्ब ६५ अर्ब ५६ करोडले कर्जा विस्तार भएको थियो।
रेमिट्यान्स बढेर तरलता सहज भए पनि कर्जा माग भने तुलनात्मक रूपमा कम देखिएको छ।
