मलद्वारमा लुकाएर सुन तस्करी!
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर सुन तस्करी गर्ने क्रममा एक भारतीय नागरिक पक्राउ परेका छन्।
दुबईबाट काठमाडौँ आएका भारतीय यात्री अबु बकरत कुरतेलाई प्रहरीले अवैध सुनसहित नियन्त्रणमा लिएको हो।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार कुरते बुधबार बिहान १० बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौँ अवतरण गरेका थिए।
विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेर खानतलासी गरेको थियो।
प्रहरीले उनलाई शौचालयमा लगेर शौच गराउँदा मलद्वारभित्र लुकाएको अवस्थामा एउटा धातुको डल्ला फेला पारेको थियो।
उक्त डल्लाको तौल प्लास्टिकसहित १०० ग्राम रहेको एसपी सिलवालले बताए।
बरामद गरिएको सुनसहित उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
