एमालेद्वारा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय
काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो घोषणा गरेको हो।
पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै पार्टी चुनावमा होमिएको स्पष्ट पारे।
देश बनाउने शक्तिलाई जिताउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै उनले एमाले नेतृत्वको अघिल्लो सरकारले आर्थिक वृद्धि र समृद्धिको एकीकृत खाकाका साथ काम गरिरहेको दाबी गरे।
थापाले अघिल्लो सरकारलाई विभिन्न पक्षहरू हाबी भएर विस्थापन गरेको भन्दै त्यसको फैसला अब जनताले निर्वाचनमार्फत गर्ने विश्वास व्यक्त गरे।
सोही अवसरमा उनले सर्वोच्च अदालतमा विचाराधीन संसद् पुनःस्थापना सम्बन्धी मुद्दाको फैसला पनि चाँडो आउनुपर्नेमा जोड दिएका छन्।
