टिपरको ठक्करले इलामका २ युवकको मृत्यु
विराटनगर । झापाको दमकमा बुधबार दिउँसो टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना युवकको ज्यान गएको छ। दमक नगरपालिका-१ बरगाछीमा दिउँसो ३:३० बजेतिर भएको उक्त दुर्घटनामा परी इलामका दुई युवाको मृत्यु भएको हो।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनासाथ दिउँसो ३:५० बजेतिर चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका–९ का ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।
