चुनावी मैदानमा कांग्रेस: गगन र विश्वप्रकाश देश दौडाहामा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना प्रमुख वक्ताहरू तय गर्दै चुनावी अभियानलाई तीव्रता दिएको छ।

पार्टीले यस पटक विशेष रणनीतिअनुसार भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका सभापति गगन थापा र निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्मालाई मुख्य वक्ताका रूपमा देशव्यापी रूपमा खटाउने तयारी गरेको छ।

कांग्रेसले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर जनकपुरमा विशाल ‘मधेस सभा’ आयोजना गरी चुनावी आमसभाको औपचारिक सुरुवात गर्नेछ।

निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्मका लागि चुनावी प्रचारप्रसारको समय तोकेकाले सोही अवधिमा देशभरका प्रमुख शहरहरूमा सभाहरू आयोजना गरिनेछन्।

भावी प्रधानमन्त्रीका उम्मेदवार थापा र निर्वाचन परिचालनको कमान्ड सम्हालेका शर्माले यी सभाहरूलाई सम्बोधन गर्ने प्रवक्ता देवराज चालिसेले बताए।

उपसभापति शर्माले झापा-१ बाट यस पटक निर्वाचन नलड्ने घोषणा गर्दै देशभरका उम्मेदवारलाई जिताउन समय दिने बताएका छन्। उता, सभापति थापा भने आफ्नो पुरानो क्षेत्र काठमाडौँ-४ छाडेर मधेसको सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका छन्।

सर्लाही-४ मा थापाको प्रतिस्पर्धा उनकै पूर्वसहयात्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग हुँदैछ। आफ्नै निर्वाचन क्षेत्र नयाँ भएकाले थापाले अन्य जिल्लाका कति सभाहरूमा समय दिन पाउँछन् भन्नेबारे पार्टीले कार्यतालिका बनाइरहेको छ। सहमहामन्त्री डा. डिला संग्रौलाका अनुसार थापा र शर्माको माग देशभरबाट उच्च रहेकाले सोहीअनुसार भ्रमण तालिका व्यवस्थापन गरिँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *