बालेनको चुनावी दौडाहा : आज कोशीका तीन जिल्लामा
विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) आज बुधबार कोशी प्रदेशका तीन जिल्लाको भ्रमणमा छन्।
पार्टीले जनाएअनुसार ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रमअन्तर्गत उनी मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानमा पुग्ने तालिका छ।
भ्रमणको सुरुवात बुधबार बिहान ७:२० बजे मोरङको पथरीबाट भएको हो। त्यसलगत्तै उनी लेटाङ र डाइनिया पुगेर मतदाताहरूसँग साक्षात्कार गरे।
बिहान ९:२५ बजे विराटनगरको बरगाछी, फुटबलचोक, पोखरिया क्षेत्रमा जनसम्पर्क सकेर उनी अहिले सुनसरीतर्फ लागेका छन्।
तालिकाअनुसार उनले बिहान १०:१० बजे दुहबी र १०:३० बजे इटहरीमा समर्थकहरूसँग भेटघाट गर्नेछन्। दिउँसो १२:२५ बजे इनरुवा र १:०५ बजे बराहक्षेत्र पुग्ने कार्यक्रम छ।
आजको यो चुनावी दौडाहा दिउँसो ३:१० बजे उदयपुरमा पुगेर समापन हुने रास्वपाले जनाएको छ। काठमाडौँको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका शाहले यसपटक झापा-५ बाट केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्।
