सुकुम्बासी बस्ती पुगेर बालेनले भने, ‘अन्याय हुन दिन्नौँ’
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ‘प्रधानमन्त्रीका उम्मेदवार’ बनेका बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ को सुकुम्वासी बस्तीमा पुगेर स्थानीयसँग छलफल गरेका छन्।
मंगलबार भएको भेटघाटका क्रममा स्थानीय बासिन्दाले वर्षौँदेखि भोग्दै आएको जग्गाधनी पुर्जा (लालपुर्जा) को समस्याका बारेमा बालेनसँग गुनासो राखेका थिए।
स्थानीयका समस्या सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट अध्ययन गरेर समाधान गर्नुपर्ने बताए।
उनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको उल्लेख गर्दै वास्तविक सुकुम्वासीलाई कुनै पनि हालतमा अन्याय हुन नदिने प्रतिबद्धता जनाए।
उनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा हात पार्ने गलत प्रथाको अब अन्त्य हुनुपर्नेमा जोड दिए।
कसैलाई पनि विस्थापन गर्नुअघि सरकारले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी गर्नुपर्ने बालेनको भनाइ थियो।
आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पुर्जा पाउने व्यवस्था मिलाइने आश्वासन समेत उनले दिए।
