जनमत बुझ्न कांग्रेसद्वारा सातै प्रदेशमा नेता परिचालन
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको वास्तविक जनमत बुझ्न र आगामी निर्वाचनका लागि रणनीतिक तयारी गर्न सातै प्रदेशमा वरिष्ठ नेताहरूलाई खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले सातै प्रदेशमा टोली पठाएर कहाँ पार्टीको अवस्था कस्तो छ र बिग्रेको ठाउँमा कसरी सुधार गर्न सकिन्छ भन्नेबारे अध्ययन सुरु गरेको हो।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तले दिएको जानकारी अनुसार निर्वाचन परिचालन समितिको निर्णय बमोजिम नेताहरू गाउँगाउँ पुगेर वस्तुस्थिति बुझ्ने क्रममा छन्।
कोशी प्रदेशमा डा. संग्रौलासहित निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे र अन्य केन्द्रीय सदस्यहरू खटिएका छन्।
यस्तै मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा टोली परिचालन भएको छ भने बागमतीमा सहमहामन्त्री बहादुर सिंह लामाले नेतृत्व गरेका छन्।
गण्डकी प्रदेशमा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र अब्दुल सतार तथा लुम्बिनीमा सहमहामन्त्री योगेन्द्र चौधरीले समन्वय गरिरहेका छन्।
कर्णाली प्रदेशको जिम्मेवारी सहमहामन्त्री कर्णबहादुर बुढा र केन्द्रीय सदस्य जानकी सिंहलाई दिइएको छ भने सुदूरपश्चिममा भरत खड्का र हिम रावलसहितको टोली खटिएको छ।
खटिएका नेताहरूले जिल्ला र निर्वाचन क्षेत्रको स्थलगत ब्रिफिङ केन्द्रलाई बुझाएपछि सोही आधारमा कांग्रेसले नयाँ प्रचार रणनीति र चुनावी कार्यक्रमहरू तय गर्ने तयारी गरेको छ।
