बजारमा मूल्य बढेको बढ्यै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत पुगेको छ। मंसिरमा १.६६ प्रतिशत रहेको यस्तो दर पुसमा आइपुग्दा केही बढेको देखिए पनि अघिल्लो वर्षको तुलनामा भने यो निकै कम हो। अघिल्लो वर्षको पुसमा मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.८१ प्रतिशत छ। समग्रमा हेर्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत कायम भएको छ।

खाद्य समूहअन्तर्गत फलफूलको मूल्य ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ। अर्कोतर्फ, दाल तथा गेडागुडीको मूल्य ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको राष्ट्र बैंकले बताए।

गैर–खाद्य क्षेत्रमा भने विविध वस्तु तथा सेवाको मूल्य २१.७५ प्रतिशतले बढेको छ। यस्तै शिक्षाको मूल्य ७.५६ प्रतिशत, कपडा तथा जुत्ताको ५.२९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ३.८५ प्रतिशतले उकालो लागेको छ।

सहरी क्षेत्रमा मूल्य वृद्धि २.५७ प्रतिशत रहँदा ग्रामीण क्षेत्रमा १.९९ प्रतिशत देखिएको छ। काठमाडौँ उपत्यकाको मुद्रास्फीति २.४८ प्रतिशत पुगेको छ। भौगोलिक आधारमा हिमालमा २.६६ प्रतिशत, तराईमा २.६५ प्रतिशत र पहाडमा १.९४ प्रतिशत मुद्रास्फीति रहेको तथ्याङ्कले देखाएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी मूल्य वृद्धि मधेश प्रदेशमा ३.३७ प्रतिशत र कोशी प्रदेशमा ३.२५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशमा सबैभन्दा कम १.०८ प्रतिशत मुद्रास्फीति रहेको छ। बागमतीमा २.१०, गण्डकीमा १.७६, लुम्बिनीमा २.६२ र सुदूरपश्चिम प्रदेशमा १.२७ प्रतिशत मूल्य वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ। त्यस्तै, दोस्रो त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कमा ६.०३ प्रतिशतको वृद्धि देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *