झापामा चुनावी सरगर्मी: बालेन र लिङ्देन एकसाथ चन्द्रगढी ओर्लिए

झापा। फरक राजनीतिक धारका दुई चर्चित नेताहरू एकैसाथ झापा उत्रिँदा स्थानीय राजनीतिमा अस्वाभाविक चासो र चर्चा सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ एउटै जहाज चढेर झापा आइपुगेका हुन्।

यति एयरलाइन्सको नियमित उडानमार्फत साँझ ५ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गर्दा यी दुई नेता हाँस्दै हात मिलाएर छुट्टिएको दृश्यले सञ्चारकर्मी र सर्वसाधारणको ध्यान तानेको थियो। विमानस्थल परिसरमा बालेनको स्वागतका लागि समर्थक र शुभेच्छुकहरूको उल्लेख्य भिड लागेको थियो।

विमानस्थलबाट बालेन सिधै आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ अन्तर्गत पर्ने दमकतर्फ प्रस्थान गरेका छन्। झापा ५ मा बालेन र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच रोचक प्रतिस्पर्धा हुँदैछ। बालेनको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।

सोही उडानमा आइपुगेका राप्रपा अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का पूर्वसांसद राजेन्द्र लिङ्देन पनि विभिन्न राजनीतिक भेटघाटमा व्यस्त हुने बुझिएको छ। नयाँ राजनीतिक शक्ति र परम्परागत राष्ट्रवादी धारका दुई प्रभावशाली नेताको यो ‘जहाज यात्रा’ लाई कतिपयले संयोग मात्र मानेका छन् भने कतिपयले आगामी चुनावी समीकरणसँग जोडेर अड्कलबाजी सुरु गरेका छन्।

बालेनको झापा बसाइ र चुनावी कार्यक्रमको औपचारिक तालिका सार्वजनिक नगरिए पनि उनको उपस्थितिले जिल्लाको राजनीतिक माहोलमा नयाँ उत्साह थपेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *