एनआरएनए १२औँ महाधिवेशन फागुन अन्तिममा
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी फागुन ३० गतेदेखि चैत २ गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ। परराष्ट्र मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी मार्च १४ देखि १६ सम्म हुने यस बृहत् सम्मेलनको मिति सार्वजनिक गरेको हो।
सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ भने यसको सचिवालयका रूपमा सङ्घको सचिवालयले नै कार्य गर्ने जानकारी दिइएको छ। सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका साथै संयुक्त लगानी, पर्यटन, स्वास्थ्य र प्रविधि हस्तान्तरण जस्ता महत्त्वपूर्ण विषयहरूमा विशेष सत्रहरू सञ्चालन गरिनेछन्।
विशेष गरी १०औँ र ११औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका साङ्गठनिक जटिलताहरूलाई सम्बोधन गर्दै यो सम्मेलन एकताको सन्देशसहित आयोजना हुन लागेको हो। सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा सम्पन्न ऐतिहासिक एकता सम्झौतापछि हुन लागेको यो पहिलो महाधिवेशन भएकाले यसलाई एनआरएनएको स्थायित्वका लागि निकै महत्त्वका साथ हेरिएको छ।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। सङ्घले सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई यो अवसरमा उत्साहपूर्ण सहभागिता जनाउन अपिल गरेको छ।
