चार स्रष्टालाई मुक्तक प्रतिष्ठानको पुरस्कार

विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर नेपाली साहित्यका विभिन्न विधा र क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चार जना साहित्यकारहरूलाई विशेष समारोहका बीच पुरस्कार समर्पण गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाई, प्राज्ञ गङ्गा सुवेदी, पुरस्कार दाताहरू र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतका अग्रज स्रष्टाहरूले संयुक्त रूपमा उक्त पुरस्कारहरू समर्पण गरे।

प्रतिष्ठानले यस वर्षको ‘नरनाथ-नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ (रु. १५ हजार) नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका प्रभावशाली तथा बहुआयामिक व्यक्तित्व प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरेको छ।

त्यस्तै, ‘नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार’ (रु. १५ हजार) नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउने प्राज्ञ डा. कौशिला रिसाललाई अर्पण गरिएको छ।

त्यसैगरी, ‘छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार’ (रु. ११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मधु पोखरेललाई प्रदान गरिएको छ।

यस्तै, ‘माधव-नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार’ (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका समर्पित साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरियो।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वको बारेमा कविहरू विन्दु दाहाल ‘मुकदर्शक’, नानुमैया दाहाल, गोपाल निर्भीक र लक्ष्मी पोखरेलले समीक्षात्मक चर्चा गरे। प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपानेले नेपाली साहित्यको उन्नयन र विकासमा यस्ता कार्यक्रमहरूले दरिलो खम्बाको रूपमा काम गर्ने बताए।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले नेपाली मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य साहित्यिक विधासरह मुक्तकको पनि गहन अध्ययन र छलफल हुनुपर्ने तर्क प्रस्तुत गरे। सचिव मदन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका स्रष्टाहरूको बाक्लो उपस्थिति थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *