केही स्थानमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ। नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्दा कोशी, मधेस र बागमतीसहितका हिमाली भेगमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ। यी क्षेत्रका उच्च पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
तराईका केही स्थानमा दिउँसोसम्मै हुस्सु र कुहिरो लाग्ने भएकाले जनजीवन सामान्य प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ। रातिको समयमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना कायमै रहने बताइएको छ।
प्रतिक्रिया
