एमालेको चुनावी तयारी: विज्ञको सुझावमा ‘समृद्धि र सुशासन’को मस्यौदा
काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्रको तयारीलाई तीव्र बनाएको छ। पार्टीले बिहीबार विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरी घोषणापत्रमा समेटिनुपर्ने मुख्य प्राथमिकताका विषयमा सुझाव लिएको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफलमा अध्यक्ष केपी शर्मा ओलीले विज्ञहरू बालानन्द पौडेल, विष्णु उप्रेती लगायत पूर्वराजदूत, अर्थशास्त्री र योजना आयोगका पूर्वसदस्यहरूसँग राय लिएका थिए। एमाले निर्वाचन प्रचार संयोजक मीन शाहीका अनुसार पार्टीले पाँच वर्षभित्र ठोस रूपमा कार्यान्वयन गर्न सकिने व्यावहारिक कार्यक्रमहरूलाई घोषणापत्रमा प्राथमिकता दिने तयारी गरेको छ।
छलफलमा अध्यक्ष ओलीले एमालेलाई सर्वाधिक लोकप्रिय पार्टीका रूपमा दाबी गर्दै राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न आफ्नो दलले नेतृत्वदायी भूमिका खेल्ने बताए। उनले मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत जनताको चाहना पूरा गर्ने सङ्कल्प घोषणापत्रमा समेटिने जानकारी दिए। गत भदौको राजनीतिक आन्दोलनले पुर्याएको क्षतिको पुनर्निर्माण र संविधानको रक्षाका लागि एमाले दृढ रहने उनको भनाइ थियो।
एमालेले यस पटकको घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई नयाँ सन्दर्भमा व्याख्या गर्दै सुशासन र आर्थिक सुधारका ठोस योजनाहरू ल्याउने तयारी गरेको छ।
