डिजिटल चन्दा र बालबालिकाको प्रयोग रोक्न आयोगको ध्यानाकर्षण
प्रतीकात्मक तस्बिर
काठमाडौँ । चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालले निर्वाचनका क्रममा देखिएका दुई गम्भीर प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आयोगलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्। बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उनले सामाजिक सञ्जालमार्फत भइरहेको चन्दा सङ्कलन र चुनावी प्रचारमा बालबालिकाको प्रयोग रोक्न माग गरेका हुन्।
अध्यक्ष सिलवालले सामाजिक सञ्जालमा फोटो, व्यक्तिगत बैंक विवरण र क्युआर कोड सार्वजनिक गर्दै चन्दा सङ्कलन गर्ने बढ्दो अभ्यासप्रति गहिरो चिन्ता व्यक्त गरे। निर्वाचनको नाममा भइरहेका यस्ता गतिविधि सतहमा आधुनिक देखिए पनि यसले लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासमा गम्भीर आघात पुऱ्याउने उनको ठहर छ। राजनीति सेवा र त्यागमा आधारित हुनुपर्नेमा व्यक्तिगत आर्थिक सङ्कलनको माध्यम बन्दै गएको भन्दै उनले यसबारे स्पष्ट नीति र निगरानी बढाउन आयोगसँग आग्रह गरे।
यसैगरी, उनले चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग भइरहेको विषयमा पनि आयोगको ध्यानाकर्षण गराएका छन्। पछिल्लो समय राजनीतिक जुलुसमा बालबालिकालाई सहभागी गराउने, नारा लगाउन लगाउने र सामाजिक सञ्जालका प्रचार सामग्रीमा प्रयोग गर्ने घटनाहरू बढिरहेको भन्दै उनले त्यसलाई तत्काल रोक्न माग गरे।
आयोग केवल चुनाव गराउने निकाय मात्र नभई लोकतन्त्रको नैतिक संरक्षक पनि भएको उल्लेख गर्दै सिलवालले स्वस्थ, पारदर्शी र मूल्यमा आधारित राजनीतिको लागि आयोगले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
