मोरङ-६ मा २५ वर्षीय वसन्त : ‘चिम’ चिह्न लिएर टोल-टोलमा

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ६ मा २५ वर्षीय युवा वसन्त बुढाथोकीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका उनले ‘बलिरहेको चिम’ चुनाव चिह्न लिएर मतदाताको घरदैलोमा पुग्दै नयाँ पुस्ताको सोच र एजेन्डा प्रस्तुत गरिरहेका छन्।

बुढाथोकीले विशेषगरी बेरोजगारी, वैदेशिक पलायनको समस्या, र गुणस्तरीय शिक्षालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन्। “म राजनीति गर्न होइन, तपाईँहरूका समस्याको भारी बोक्न र समाधान खोज्न आएको हुँ,” भन्दै उनले चोक-चौतारी र युवा भेलाहरूमा प्रत्यक्ष संवाद गरिरहेका छन्। उनको सरल शैली र कार्यान्वयनयोग्य योजनाले स्थानीय युवा र अभिभावक पुस्ताको ध्यान तान्न थालेको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसका पाका र अनुभवी नेता डा. शेखर कोइराला जस्ता राष्ट्रिय कदका व्यक्तित्वसँगै चुनावी मैदानमा रहेका बुढाथोकीले आफूलाई ‘भविष्यको नेतृत्व’का रूपमा उभ्याएका छन्। परम्परागत मञ्चीय भाषणभन्दा पनि प्रत्यक्ष जनसंवादमा विश्वास गर्ने वसन्तले सामाजिक सञ्जालमार्फत पनि आफ्ना एजेन्डाहरू सशक्त रूपमा प्रवाह गरिरहेका छन्।

लामो समयदेखि अनुभवी र स्थापित नेताहरूलाई जिताउँदै आएका मोरङ-६ का मतदाताहरूका लागि यसपटक युवा ऊर्जा र नयाँ दृष्टिकोण बोकेका बुढाथोकी एक नयाँ विकल्पका रूपमा देखिएका छन्। अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहसमा उनले आफ्नो बलियो उपस्थिति देखाउन सफल भएका छन्।

मोरङ क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा, बुढीगंगा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडा गरी कुल २० वटा वडा पर्छन् ।

१ लाख ३७ हजार ७३२ मतदाता रहेको यस क्षेत्रमा पछिल्लो समय युवा मतदाता उल्लेख्य संख्यामा थपिएकाले उनीहरु आफूप्रति आकर्षित हुने विश्वास बुढाथोकीको छ। यो क्षेत्रमा १७ जना उम्मेदवार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *