कांग्रेसको चुनावी परिपत्र: १२ वटा समिति बनाउन निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका निकायलाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ। निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले बुधबार परिपत्र जारी गर्दै प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिलाई यस्तो निर्देशन दिएका हुन्।
‘विजय अभियान व्यवस्थित बनाउन’ भन्दै जारी गरिएको परिपत्रमा निर्वाचनमा पार्टी पंक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न विभिन्न संरचना निर्माण गर्नुपर्ने उल्लेख छ। धेरै ठाउँमा समिति गठन भइसकेको र बाँकी रहेका ठाउँमा अविलम्ब प्रक्रिया अघि बढाउन शर्माले आग्रह गरे।
परिपत्र अनुसार अब निर्वाचन व्यवस्थापन सचिवालय, परिचालन मूल समिति, प्रचार-प्रसार, स्थानीय तह समन्वय, बौद्धिक क्षेत्र, सामाजिक सङ्घ-संस्था र धार्मिक सङ्घ-संस्था समन्वय समितिहरू गठन हुनेछन्। त्यस्तै निजी क्षेत्र समन्वय, १८/३० विशेष अभियान, पूर्वआप्रवासी, स्थानीय प्रशासन समन्वय र अनुगमन समिति समेत बनाउनुपर्ने जिम्मेवारी तोकिएको छ। यी बाहेक आवश्यकता अनुसार परिचालन र प्रचार समिति अन्तर्गत अन्य उपसमितिहरू पनि गठन गर्न सकिने परिपत्रमा उल्लेख छ।

