धनमाल लुट्न श्रीमान-श्रीमतीकै प्राण लिइयो
काठमाडौँ । ओखलढुंगाको चिसंखुगढीमा मङ्गलबार बिहान एक दम्पती मृत अवस्थामा फेला परेका छन्। चिसंखुगढी गाउँपालिका-६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राईको हत्या भएको हो। घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा उनीहरूको शव भेटिएपछि प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
घटनाको गम्भीरतालाई हेर्दै धरानबाट तालिम प्राप्त कुकुरसहित डीएसपी मदन केसीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए।
लुटपाटकै लागि हत्या भएको आशंका ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले लुटपाटका लागि दम्पतीको हत्या भएको हुनसक्ने आँकलन गरे। घरमा भएको धनमाल समेत हराएकाले प्रारम्भिक अनुसन्धानले लुटपाट नै मुख्य उद्देश्य देखाएको छ।
श्रृङ्खलाबद्ध हत्याले गाउँ त्रसित ओखलढुंगामा पछिल्लो केही महिनायता हत्याका घटना लगातार भइरहेका छन्। यसअघि २०८२ असोज २६ मा सिद्धिचरण नगरपालिकामा एकल महिला रत्न कुमारी कटवालको बञ्चरो प्रहार गरी हत्या गरेर गहना लुटिएको थियो।
त्यस्तै, पुस १५ मा पनि भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्ने शोभितमान थापा मगर र उनकी पत्नी रत्नमायाको हत्या भएको थियो। उक्त घटनामा पनि नगद र सुन लुटिएको थियो। ती पुराना दुई घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
मङ्गलबार भएको राई दम्पतीको हत्यामा पनि पुराना घटनामा संलग्न समूहकै ‘कनेक्सन’ हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।
