बालेनबारे प्रचण्ड : ‘विदेशी लगानीमा उभिएको स्टन्टको खेती’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा चुरे भावर पार्टीसँगको एकता कार्यक्रममा बोल्दै प्रचण्डले विचार र सिद्धान्तभन्दा पनि ‘स्टन्ट’ को भरमा लोकप्रिय हुनेहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री प्रचण्डले त्याग र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवर्द्धन गरिनु मुलुकका लागि सुखद नभएको बताए। “अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरेको हामीले देखिरहेका छौँ,” उनले भने।
यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमा भन्दा पनि प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको उनको जिकिर छ।
मुलुकमा राष्ट्रिय तागत निर्माण गरी जनताको पक्षमा काम गर्न कम्युनिस्ट र वामपन्थी शक्तिहरूबिचको एकता अपरिहार्य भएको प्रचण्डले उल्लेख गरे। राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको बताए। कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउन सक्ने भन्दै उनले अन्य शक्तिहरूलाई पनि एकतामा आउन आह्वान गरे।
