कांग्रेस उम्मेदवार : १०६ जना नयाँ अनुहार

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो संख्यामा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवारी टुङ्ग्याएको कांग्रेसले यसपटक ६० प्रतिशतभन्दा बढी क्षेत्रमा नयाँ उम्मेदवारलाई प्राथमिकता दिएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले दिएको जानकारी अनुसार कुल १६५ सिटमध्ये १०६ जना नयाँ उम्मेदवारले यसपटक प्रतिस्पर्धा गर्दै छन्। पार्टीले युवा र नयाँ नेतृत्वलाई अघि बढाउने नीति लिएका कारण ठुलो संख्यामा नयाँ उम्मेदवार छानिएको उनले बताए।

बागीलाई फिर्ता हुन निर्देशन पार्टीको आधिकारिक निर्णय विपरीत बागी उम्मेदवारी दिएकाहरूलाई कांग्रेसले उम्मेदवारी फिर्ता लिन कडा निर्देशन दिएको छ। धेरैजसो ठाउँमा बागी उम्मेदवारहरूले नाम फिर्ता लिइसकेको प्रवक्ता चालिसेले जानकारी दिए। निर्वाचन सफल बनाउन सातै प्रदेश, जिल्ला र वडास्तरसम्मका सबै कमिटीहरूलाई निर्वाचन केन्द्रित हुन निर्देशन दिइएको छ।

डिजिटल प्रचार र आन्तरिक अनुशासन निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै कांग्रेसले आफ्ना नेता र कार्यकर्ताका लागि छुट्टै ‘आन्तरिक आचारसंहिता’ समेत जारी गरेको छ। पार्टीलाई अनुशासित बनाउन र राष्ट्रिय झण्डाको मर्यादा राख्न सबैलाई सचेत गराइएको चालिसेले बताए।

प्रचारप्रसारको शैलीमा पनि परिवर्तन गर्दै यसपटक कांग्रेसले डिजिटल माध्यम र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने रणनीति लिएको छ।

महाधिवेशनपछिको नयाँ ऊर्जा हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको दाबी गर्दै प्रवक्ता चालिसेले अन्य दलका कार्यकर्ताहरू समेत कांग्रेस प्रवेश गर्ने लहर चलेको बताए। संगठनको एकता, अनुशासन र आधुनिक प्रचार शैलीलाई आधार बनाएर निर्वाचनमा होमिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *