निर्वाचनमा घृणाजन्य अभिव्यक्ति नदिन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति नदिन राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित आरोप-प्रत्यारोप हुनुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेताहरूले एकअर्कालाई आक्षेप लगाउने र घृणा फैलाउने अभिव्यक्ति दिँदा समाजमा अराजकता बढ्ने आयोगको ठम्याइ छ।
संविधान र अन्तर्राष्ट्रिय कानुनले विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको भए पनि अरूको आत्मसम्मानमा चोट पुर्याउने र शान्ति सुरक्षामा आँच पुर्याउने कार्यलाई स्वतन्त्रता मान्न नसकिने आयोगले स्पष्ट पारेको छ। यस्ता गतिविधि रोक्न र शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन आयोगले सरकारलाई समेत आग्रह गरेको छ।
