अस्पतालबाटै किशोरीको शव गायब !
सिरहा । पोष्टमार्टमका लागि अस्पतालमा राखिएको किशोरीको शव नै हराएपछि सिरहाको गोलबजारमा तनाव उत्पन्न भएको छ। गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालबाट हराएपछि आफन्त र स्थानीयले मंगलबार प्रदर्शन सुरु गरे।
गत माघ १० गते निशा आफ्नै घरमा मृत फेला परेकी थिइन्। प्रहरीले सबै प्रक्रिया पूरा गरी उनलाई पोष्टमार्टमका लागि लहान पठाएको थियो। निशाका बुबा–आमा रोजगारीका लागि भारतमा थिए। उनीहरू सोमबार फर्केर छोरीको शव लिन अस्पताल पुग्दा शव फेला परेन।
स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम समेत नभएको शव हराउनु अस्पताल र प्रहरीको गम्भीर लापरबाही भएको बताए। उनले यस्तो लापरबाही गर्ने अस्पताल प्रमुख र प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे। शव हराएपछि आक्रोशित स्थानीयले सोमबार साँझ पनि सडक अवरुद्ध पारेका थिए।
वडाध्यक्ष धनप्रसाद लामाले मंगलबार बिहान १० बजेभित्र शव नबुझाए पुनः आन्दोलन गर्ने चेतावनी दिए। अस्पताल जस्तो संवेदनशील ठाउँबाट शव हराएको यो घटनाले यतिबेला स्थानीयमा आक्रोश र त्रास बढाएको छ।
