पश्चिमदेखि गण्डकीसम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले गर्दा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरूमा हिउँ र पानी पर्ने भएको छ। यो बदलावले दैनिक कामकाज र जनस्वास्थ्यमा प्रभाव पार्न सक्ने भएकाले मौसमको जानकारी लिएर मात्र यात्रा वा योजना तय गर्न मौसमविद्ले सुझाव दिएका छन्।

मौसमविद् सन्जिव अधिकारीले आज मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिउँ वा पानी पर्ने बताए। ती प्रदेशका पहाडी र तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ। रातिदेखि यो प्रणाली पूर्वतर्फ सर्दै जाने र सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका केही ठाउँमा मध्यम खालको हिमपात हुने उनले जानकारी दिए।

हिमाली भेगका एक-दुई ठाउँमा भारी हिमपातको समेत जोखिम छ भने बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिउँ पर्न सक्छ। वर्षाको कुरा गर्दा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा मध्यम र तराईमा हल्का पानी पर्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।

काठमाडौँ उपत्यकामा भने भोलि बुधबार मात्र हल्का पानी पर्ने सम्भावना छ। मौसमविद् अधिकारीले बुधबार दिउँसो काठमाडौँमा सामान्य वर्षा हुने तर उपत्यका आसपासका क्षेत्रमा हिउँ पर्ने सम्भावना भने कम रहेको बताए। कोशी प्रदेशका हिमाली भेगसम्मै हल्का हिमपातको असर पुग्ने देखिएको छ।

मौसममा आएको यो फेरबदल बुधबार रातिदेखि सुधार हुँदै जाने र बिहीबारदेखि देशभरकै मौसम सफा हुने प्रक्षेपण गरिएको छ। गत हप्ताको तुलनामा यो प्रणाली केही शक्तिशाली रहेकाले यसपटक हिउँ र पानी पर्ने क्षेत्र विस्तार हुने र पानीको मात्रा पनि केही बढी हुने देखिएको छ। यसले वायु प्रदूषण घटाउन भने मद्दत पुर्‍याउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *