ओलीलाई ‘हत्यारा’ भनेकोमा बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता र प्रचलित कानुनविपरीत घृणात्मक तथा भ्रामक अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीविरुद्ध उजुरी दर्ता गरिएको हो।

निवेदक धर्मराज तिमिल्सिनाले दर्ता गरेको उजुरीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ‘पब्लिक डिबेट’ को सन्दर्भमा शाहले सामाजिक सञ्जालमा दिएको टिप्पणी लोकतान्त्रिक मर्मविपरीत रहेको दाबी गरिएको छ।

बालेनले प्रयोग गरेका ‘हत्यारा, आतंकवादी र देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर र तथ्यहीन आरोप भएको निवेदनमा उल्लेख छ। यस्ता अभिव्यक्तिले व्यक्तिको प्रतिष्ठामा क्षति पुर्‍याउने र मतदातालाई भ्रमित पार्ने भन्दै छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

यसैगरी, सोही निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी लगायतका क्षेत्रमा चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको विषय पनि उठाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओका आधारमा रास्वपाको उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै सत्यतथ्य छानबिनको माग गरिएको छ। निर्वाचन आयोगले यी दुवै विषयमा उजुरी परेपछि आवश्यक प्रक्रिया अगाडि बढाउने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *