नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाट नेपाली महिला क्रिकेट टोली बाहिरिएको छ। सोमबार भएको खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको हो।

स्कटल्यान्डले दिएको १४१ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा मात्र ६८ रन बनाउँदा अलआउट भयो। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। खेलका क्रममा कप्तान इन्दु बर्मा चोटग्रस्त भएर मैदान बाहिरिनु नेपालका लागि महँगो सावित भयो। सातौं ओभरमा चोट लागेपछि उनी पुनः मैदान फर्किन सकिनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालले बलिङमा उत्कृष्ट सुरुवात गर्दै स्कटल्यान्डलाई ७९ रनमा ६ विकेट झारेर दबाबमा राखेको थियो। तर, स्कटल्यान्डकी प्रियानाज चटर्जीले अविजित ४५ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याइन्। नेपालका लागि मनीषा उपाध्यायले घातक बलिङ गर्दै ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट हात पारिन्।

प्रतियोगितामा नेपालले चार खेलमध्ये एकमा मात्र जित निकाल्न सक्यो। पहिलो दुई खेलमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो। आजको हारसँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। त्यस्तै समूह ‘ए’ बाट बंगलादेश, आयरल्यान्ड र अमेरिकाले अन्तिम छ मा स्थान पक्का गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *