सङ्खुवासभामा दुर्घटना : २ जनाको मृत्यु

विराटनगर। सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा आइतबार राति भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको पहिचान खुलेको छ। चैनपुर बजारबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा चैनपुर नगरपालिका-१ मैदाने निवासी वीरबहादुर लिम्बु र सोही वडाको पैरे गाउँका १७ वर्षीय अनिष थक्लुङ रहेका छन्। दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन्। जिप सडकबाट तल खसेर दुर्घटना भएको हो।

घाइते हुनेहरूमा चैनपुर-१ सिङरीङका ३४ वर्षीय निमदोर्ची शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा र पाँचथरको फिदिम नगरपालिका-४ माझिटारका २८ वर्षीय दिपेश माझी रहेका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *